काठमाडौं, २९ साउन– मधेश प्रदेशका आठै जिल्लामा अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुको लहर चलेको छ ।
एमालेले पार्टीका पोल्युटब्युरो सदस्य सुमनराज प्याकुरेल र मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तलाई प्रदेशमा पाटी प्रवेशको संयोजनको जिम्मेवारी तोकेपछि मधेशका आठै जिल्लामा अहिले एमाले प्रवेश गर्नेहरुको लहर चलेको हो ।
गत बिहीबार सप्तरीबाट सुरु भएको यो लहरमा सिरहा, धनुषा हुँदै हिजो (आइतबार) महोत्तरीमा बिभिन्न पार्टीका नेताहरु एमाले प्रवेश गरेका छन् ।
बर्दिबासमा आयोजित एक समारोहबीच हिजो नेकपा माओवादीकेन्द्रका प्रदेश समिति सदस्य जिवछ चौधरी, नेकपा समाजवादीका महिला नेतृ कमला वाइवा र साधुराम चौैंलागाँईले एमाले प्रवेशको घोषणा गरे । तीनै जनालाई एमाले पोल्युटब्युरो सदस्य प्याकुरेल, केन्द्रीय सदस्यद्वय सरोज यादव र बुधनीदेवी महतो तथा प्रदेश उपाध्यक्ष रेवती पन्तलगायतका नेताले अबिर खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा प्रवेशीहरुले अबको मुलुकको नेतृत्व एमालेमात्रले गर्नसक्ने ठहरका साथ यो यात्रा सुदृढ बनाउने अभियानमा आपूmहरु समाहित भएको बताएका छन्। “अब गाँठैगाँठाको गठबन्धनले मुलुक अघि बढ्न सक्दैन, माओवादीकेन्द्र नेतृत्व तस्कर र झेलीहरुको पेवा बन्यो” पार्टी प्रवेशपछि नेता जिवछ चौधरीले भने, “अब सुदृढ कम्युनिष्ट पार्टी निर्माणका लागि एमाले बलियो बनाउन पर्छ ।”
चौधरीसहित नेतृ वाइवा र चौंलागाँईले गठबन्धन दोकानबाट आन्दोलन अघि नबढ्ने हुँदा सम्विधान र लोकतन्त्रको सुदृढिकरणसँगै समाजवादी यात्रा अघि बढाउन माओवादीकेन्द्र र एकीकृत समाजवादीमा अलमलिएका साथीलाई एमाले प्रवेशका लागि अपिल गरे ।
कार्यक्रममा एमाले मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तले सप्तरीबाट सुरु भएको पछिल्लो अभियानको एमाले प्रवेश गर्ने साथीलाई जिल्लाजिल्लामै स्वागत गर्दै वीरगञ्ज पुगिने जानकारी दिइन् ।
एमाले प्रवेश गरेका साथीलाई बिना कुनै भेदभाव योग्यता क्षमताका आधारमा जिम्मेवारी दिइने र सम्मान गर्ने कुरामा कमी नगरिने पोल्युटब्यरो सदस्य प्याकुरेलले प्रतिबद्धता जनाए। यही साउन अन्तिम साताभित्र प्रदेशका आठवटै जिल्लामा गरी बिभिन्न पार्टीका नेतृत्वदायी जिम्मेवारीमा रहेका १०० भन्दा बढी एमाले प्रवेश गर्ने एमाले प्रदेश सचिवालय सदस्य शङ्कर महतोको भनाइ छ ।
