देशभरका शिवालयहरुमा साउने सोमबार भिड

२९ श्रावण २०८०, सोमबार ११:०२

काठमाण्डौ, २९ साउन– आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् ।

धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास चलिआएको छ ।

यही विश्वासका साथ काठमाण्डौ पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर लगायत शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्नेहरुको घुइँचो लागेको छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।

बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन् ।
आज साउनको अन्तिम सोमबार भए पनि तिथिका हिसाबले साउनका अझै दुई वटा सोमबार बाँकी रहेको धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीले बताए । ‘मलमासका कारण भदौ ४ गते र ११ गते गरी दुई वटा साउने सोमबार बाँकी नै छन्’, उनले भने ।

उनका अनुसार साउन महिना जनैपूर्णिमाको दिन मात्र सकिन्छ । यस वर्षको जनैपूर्णिमा भदौ ११ गते छ । ‘त्यसैले साउनको अन्तिम सोमबार भदौ ११ गते हो, मलमासका कारण भदौमा पनि साउने सोमबार परेको’, उनले बताए ।

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गर्दछन् ।

त्यसअघि भदौ ४ गते नागपञ्चमीको दिन पनि सोमबार परेको छ । नागपञ्चमीको दिन सोमबार पर्नु झनै शुभ मानिने डा. शास्त्री बताउँछन् ।