नेकपा एस छोडेर ४० जना भन्दा बढी केन्द्रीय नेता फर्किए एमालेमै, माधव नेपाललाई ठूलो धक्का

२६ श्रावण २०८०, शुक्रबार १०:२७

काठमाडौं, २६ साउन – नेकपा एकीकृत समाजवादी छोडेर एमालेमा प्रवेश गर्नेहरुको लर्काे लागेको छ । नेकपा एसलाई ‘पिँध नभएको लोटा’को संज्ञा दिँदै विभिन्न पदमा रहेका नेता तथा कार्यकर्ताहरु एमालेमै फर्किने क्रम जारी नै रहेको छ ।

नेकपा एस छोडेर नेता तथा कार्यकताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जंगली लगायत धेरै नेता तथा कार्यकर्ता एमालेमै फर्किसकेका छन् । धेरै नेता तथा कार्यकर्ता निराशामा रहेकाले नेकपा एकीकृत समाजवादीमा ठूलो पहिरो जाने एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताएका छन् ।

उनका अनुसार ७७ जिल्लाबाट ठूलो मात्रामा नेता तथा कार्यकर्ताहरू एमालेमा फर्किने क्रम जारी रहेको छ । नेकपा एकीकृत समाजवादीबाट ३० जना केन्द्रीय नेता एमालेमा फर्किएको विवरण अधिकारीले जानकारी गराएका छन् । यसरी नेकपा एस छोडेर एमालेमा फर्किएका केही नेताको विवरण अद्यावधिक गर्न बाँकी रहेको बताउदै उनले करिब ४० जना केन्द्रीय नेता एमालेमै फर्किसकेको जिकिर गरे ।

प्रदेश र स्थानीय तहमा फर्र्किएका नेता तथा कार्यकर्ताहरूको विवरण आउन बाँकी रहेको उनको भनाइ छ । अधिकारीले अहिलेसम्म ३० जना केन्द्रीय नेता र १२ जना जिल्ला अध्यक्षहरू नेकपा एकीकृत समाजवादी परित्याग गरी एमाले फर्किएको जानकारी दिए ।