काठमाडौं, २५ साउन– १ सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्ने सांसदलाई प्रहरीले पक्राउ गरेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्ने कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेका हुन् । सांसद शर्माले गृह मातहतको प्रहरी र अर्थ मातहतको भन्सारबाट सुन छुटेको तर, प्रधानमन्त्री कार्यालय मातहतको निकाय राजस्व अनुसन्धान विभागले सिनामंगलबाट सुन समातेकाले यस प्रकरणमा गृह र अर्थ मन्त्रालयको सेटिङ देखिएको आरोप लगाउँदै गृह र अर्थमन्त्रीको राजीनामा माग गरेका थिए ।
उनलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो । मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई पक्राउ गरिएको विषय खुलेको छैन । पक्राउ परेका सांसद शर्मा मेडिकल कलेजका सञ्चालक पनि हुन् ।
