काठमाडौं, २५ साउन– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले सबै जातजाति र धर्मावलम्बीहरूको अधिकारको सम्मानमा कुनै सर्तबन्दी नगर्ने बताएका छन् ।
एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले बिहीबार (आज) २९ औँ विश्व आदिवासी दिवसका अवसरमा च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले देशका विविध धर्म,जाती र भाषाका पक्षमा दृढतापूर्वक एमाले उभिँदै आएको र आगामी दिनमा पनि उभिने बताएका हुन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै व्यङ्ग्य पनि गरे । उनले भने, ‘म नाम अलि बिर्सन्छु । हिजोअस्ति भर्खरै कोशी प्रदेशको सन्दर्भलाई लिएर होला एक जना मित्रले भन्नुभयो । अर्को पटक २०८४ मा हामीलाई भोट हालेर जिताउनुभयो भने म यो कोशी प्रदेशको नामै फेर्दिन्छु ।’
नेता नेम्वाङले त्यसो भन्ने मान्छेको नाम बिर्सेपनि अनुहार झलझल्ती याद आइरहेको बताए । उनले भने ‘उहाँले यसो भनेको मलाई कताकति पढेको जस्तो लाग्यो । झलझली अनुहार याद छ तर नाम बिर्सेँ ।’
दुई दिन अघि प्रधानमन्त्री प्रचण्डले विश्व आदिवासी दिवसकै अवसरमा काठमाडौमा भएको एक कार्यक्रममा कोशी प्रदेश नामकरण र भइरहेको विरोधलाई लक्षित गर्दै आउने चुनावमा आफ्नो पार्टीलाई जिताए कोशीको नाम फेरिदिने बताएका थिए ।
