ललिता निवास जग्गा प्रकरण: माधव अनुसन्धानमा तानिए के सरकारलाई दिएको समर्थन फिर्ता लेलान त ?

२५ श्रावण २०८०, बिहीबार १३:५७

काठमाडौं, २५ साउन– गठबन्धन सरकार एकपछि अर्को लफडामा फस्दै गएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको आठ महिना पुगेको छ । तर अहिलेसम्म सरकारले रफ्तार लिन सकेको छैन । प्रमुख प्रतिपक्षी दल एमालेले संसद् चल्न दिएको छैन भने सत्तारुढ दलकै नेताहरू विभिन्न काण्डमा फस्दै गएकाले प्रचण्ड सरकारले पूर्ण कार्यकाल बिताउन नसक्ने सम्भावना बढ्दै गएको हो ।

सत्तारुढ दल मध्येको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानमा तानिएका छन् । सर्वोच्च अदालतले नीतिगत निर्णय गर्नेलाई पनि अनुसन्धानको दायरामा तान्न आदेश दिइसकेको छ । हाल उनी युरोप भ्रमणमा छन् । स्वदेश फर्केलगत्तै उनीसँग सिआईबीले बयान लिने भएको छ ।

माधव नेपालसँगै बाबुराम भट्टराई पनि अनुसन्धानको दायरामा परेका छन् । दुवैजना प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने नीतिगत निर्णय भएको पाइएको छ ।

बाबुरामको पार्टी नेसपा पनि सरकारमा सामेल छ । माधव नेपालले प्रचण्ड पहिले प्रधानमन्त्री हुँदा उनले प्रधानमन्त्री निवास बालुवाटारको मास्टर प्लान बनाएको र त्यसलाई नै सहयोग गर्ने गरी नीतिगत निर्णय गरेको भनेर अभिव्यक्ति दिइसकेका छन् ।

जसकारण प्रचण्डसँग माधवको सम्बन्धमा तिक्तता आइसकेको बुझ्न सकिन्छ । आफू अनुसन्धानमा तानिए माधवले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना उत्तिकै छ ।

अर्कोतिर जसपा अध्यक्ष उपेन्द्र यादवले त सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइसकेका छन् । जसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्डको अनुसन्धान अघि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको हो । जसपाले १७ वर्षअघि भएको गौर हत्याकाण्डका विषयमा सरकारले पीडितसँग गरेको पाँचबुँदे सहमतिलाई लिएर असन्तुष्टि जनाएको छ ।