कुनै कानुन, नियमावलीमा संसद् प्रतिपक्षको मात्रै भनेर लेखिएको छैन: देवेन्द्र पौडेल

२३ श्रावण २०८०, मंगलवार १७:१३


काठमाडौँ, २३ साउन– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कुनै कानुन नियमावलीमा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षी दलको भनेर नलेखिएको बताएका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन । उनले सबै दलका निर्वाचित जनप्रतिनिधिको साझा थलोको रुपमा प्रतिनिधिसभा रहेको बताएका छन ।

उनले भने–‘डाक्टरले बिरामी जाँच्न छोड्यो भने के होला ? शिक्षकले पढाउन छोड्यो भने विद्यार्थीको हालत के होला ? कर्मचारीले काम गर्न छोडे राज्यको हालत के होला ?

अनि संसद् अवरुद्ध गरियो भने जनता समस्याहरु कहाँ गएर प्रकट गर्ने ? त्यसकारण प्रतिपक्षका साथीहरुलाई आग्रह गर्न चाहन्छौँ, तपाईहरुले सदन रोक्नुभएकै हो, कृपया सदन नरोकेर आफ्ना भनाईहरु सदन राख्न अनुरोध गर्न चाहन्छु ।’

सांसद पौडेलले नेपालमा कहिले सुडान घोटालाको प्रशंग उठेको, कहिले वाइडबडी, कहिले एनसेल प्रकरण, कहिले सेक्युरिटी प्रिन्टिङ प्रेस, कहिले ओम्नी काण्डका विषय पहिलेपनि उठेको बताएका छन ।

उनले ललिता निवासको १२२ रोपनी ४ आना जग्गा किर्ते गरेर हराएको विषयमा अनुसन्धान गरेर सरकारले जरामा पुगेको कुरालाई प्रशंसा गर्नुपर्ने बताएका छन ।

यस्तै नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरेर अनुसन्धान गरेको विषयलाई धन्यवाद दिनुपर्ने बताएका छन ।उनले यसअघि अरु नै गृहमन्त्री भएको बेलादेखि नै सुन तस्करी भएको उल्लेख गर्दै अहिलेको सरकारले सुन समातेको विषयमा अनुसन्धान गर्नका लागि प्रतिपक्षी दलले सहयोग गर्नुपर्ने बताएका छन ।