एमालेले बोल्नुपर्छ: महासचिव शंकर पोखरेल

२३ श्रावण २०८०, मंगलवार १५:२५

काठमाडौं, २३ साउन– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाज रूपान्तरण गर्ने नीति र गन्तव्य बोकेर हिँडेको क्रान्तिकारी पार्टीका नेताकार्यकर्ताका लागि शाही भद्रता नसुहाउने बताएका छन् ।

पार्टीका नीति, विचार र योजनाका बारेमा बोल्न र विचार विमर्श गर्न पनि महासचिव पोखरेलले आग्रह समेत गरेका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीको सोमबार (हिजो) पोखरामा सम्पन्न बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले समाज बदल्नका लागि विचारको विमर्श आवश्यक भएको बताए।

उनले भने,“यथास्थितिवादीहरू नबोले पनि हुन्छ, किनकि उनीहरूलाई समाज बदल्नु छैन । त्यसैले उनीहरूका लागि विचार विमर्श पनि आवश्यक पर्दैन ।
‘नेपाली कांग्रेसका नेताहरू नबोल्दा वा कम बोल्दा पनि काम फत्ते हुने गरेको जस्ता कुराबाट प्रभावित भएर हामी पनि त्यसै गर्दा हुन्थ्यो कि भन्ने सोच नेताकार्यकर्तामा विकास हुनु एमालेलाई क्रान्तिकारी हुनबाट बन्चित गर्ने चिन्तन हो ।”

महासचिव पोखरेलले भने,“यदी नेकपा (एमाले) को माध्यमबाट हामी समाज बदल्न चाहन्छौं भने नेकपा (एमाले)का कार्यकर्ताहरू बोल्नुपर्छ, बोल्न सक्नुपर्छ । तबमात्र समाज बदल्न सकिन्छ । पार्टीका नेताकार्यकर्ता बोल्न छोडेका कारण बोल्ने सबै भार प्रमुख नेताहरूमाथि आइलागेको बताउदै उनले भने कमरेडहरू बोल्न शुरु गर्नुस्, नेताहरू कम बोले पनि पुग्छ तर एमालेले बोल्नुपर्छ ।”