लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, एकतर्फी सञ्चालनमा

२३ श्रावण २०८०, मंगलवार ११:३९

काठमाडाबैं, २३ साउन– अबिरल बर्षाको कारण पहिरो जादा नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडकखण्डमा दुई ठाँउको पहिरो हटाएपछि बिहान साढे ९ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

मंगलबार (आज) बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि ५ सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो ।

दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले बताए। उनका अनुसार दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन र यात्रुहरू गन्तव्यतर्फ लागेका छन् । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।