एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित

२२ श्रावण २०८०, सोमबार १४:२४

काठमाण्डौ, २२ साउन– आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमाले सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए । त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल थापालाई बोल्न समय दिए ।

उनले आफूहरुले चाहेर नभइ बाध्यताले संसद अवरोध गर्नु परेको बताएकी छन । उनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दावा छिरिङ शेर्पाको नागरिकता बारे पनि प्रश्न उठेको बताएकी छन ।

उनले भेपमा सुन तस्करीमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको पनि संलग्नता रहेको प्रमाणसहितको प्रतिवेदन सीआईबीले तयार पारेको तर सरकारले उनीहरुलाई जोगाइरहेको भन्दै आपति व्यक्त गरेका छन ।

उनले बोलेपछि पनि एमाले सांसदहरुले उठेर विरोध जारी राखेकाले अध्यक्षले बैठक साउन २४ गते बुधबार दिनको १:०१ बजेसम्मका लागि स्थगित गरे ।