काठमाण्डौ, २२ साउन– सभामुख देवराज घिमिरेको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छ ।
संसदको गतिरोध हटाउन सभामुख घिमिरले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल सुरु गरेका हुन । सभामुख घिमिरेको सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीन दलका प्रमुख सचेतक तथा सचेतक सहभागीता रहेको छ ।
१० साउनको प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेको थियो । एमालेको अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।
सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
