अध्यक्ष ओलीलाई महामन्त्री शर्माको जवाफ– बीपीलाई बुझ्न मदन भण्डारीको आँखाबाट पढे पनि पुग्छ

१८ श्रावण २०८०, बिहीबार १६:१३

काठमाण्डौ,१८ साउन– पूर्व प्रधानमन्त्री एवं एमाले केपी शर्मा ओलीले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसमर्पणवादी भनेपछि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसको प्रतिवाद गरेका छन् ।

हिजो (बुधवार) ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २६औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका थिए ।

उनले बीपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल फर्किएर राजासँग आत्मसमर्पण गरेको बताएका थिए । उनले राजासँग आत्मसमर्पण गरेको कुरालाई राष्ट्रिय मेलमिलाप नीति भन्ने गरिएको बताएका थिए ।

एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘गणेशमानजी ५० वर्ष कांग्रेसमा रहनुभयो, पहिला पनि कांग्रेस हुनुहुन्न्थ्यो, पछि पनि कांग्रेस छाडेर अलग हुनुभयो ।

गणेशमानजी सधैं कांग्रेससँग कांग्रेसको कमजोर आत्मसमर्पणवादी चरित्र र भन्ने एकथोक गर्ने अर्कोथोक । त्यो खालको देखेर उहाँ सधैं संघर्षरत हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसका नेताहरू असाध्यै चतुर हुनुहुन्छ । संघर्ष गर्न, टिक्न नसकिने भयो, भारतमा पनि अडिन गाह्रो भयो, सबैतिर गाह्रो भएपछि अब आत्मसमर्पण गरेर भएपनि नेपाल जानुपर्छ भनेर आउनुभयो तर त्यसलाई के भन्नुभयो भने एकदिन बिहान सबै राता झण्डा नेपालमा गाडिएका देखिने खतरा छ ।

त्यसकारण अब म जनताको प्रतिनिधि जनशक्ति, राजा राज्यको शक्ति, दुईवटा मिलेर जानुपर्छ, त्यसकारण राजा र मेरो गर्धन जोडिएको छ भन्ने व्याख्या गरेर बीपी कोइरालाले राष्ट्रिय मेलमिलाप भनेर आफ्नो र राजाको मेलमिलापलाई राष्ट्रिय मेलमिलाप भन्नुभयो, कसविरुद्ध भन्दा वामपन्थी परिवर्तनकारी देशभक्त शक्तिहरूका विरुद्ध ।

उहाँका त्यसबेलाका वक्तव्य हेरे हुन्छ । बोल्न नसक्नु बेग्लै कुरा हो, कसैले बोल्न सक्दैन बेग्लै कुरा तर नीति त्यही हो, वक्तव्यले त्यही कुरा भन्छ ।’ ओलीको सोही अभिव्यक्तिलाई लिएर महामन्त्री शर्माले व्यक्त गरेका छन ।

उनले अध्यक्ष ओलीले बीपी कोइरालाको बारेमा राष्ट्रिय मेलमिलाप नीतिप्रति लक्षित अभिव्यक्ति प्रतिक्रियायोग्य नरहेको बताएका छन ।

उनले अध्यक्ष ओलीले कुनै पनि सार्वजनिक कार्यक्रममा अरुको बारेमा तिक्तता नपोखी वक्तव्य टुंग्याए नेपाली समाजले अनौठो मान्नुपर्ने स्थिति आइसकेको बताएका छन ।

महामन्त्री शर्माले अ ओलीका पछिल्ला अभिव्यक्ति सुसंस्कृत हुन नसकेको बताएका छन ।उनले बीपी कोइरालाले २०३३ सालमा लिएको राष्ट्रिय मेलमिलापाको नीतिप्रति एमालेको संस्थागत बुझाइ यही हो ? भन्दै प्रश्न गरेका छन ।

उनले बीपी कोइरालाले बनाएको बाटोमै अहिले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढिरहेको पनि बताएका छन । उनले बीपीले नै कोरिरहेको बाटोमा नेपालको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय जनवादमार्फत रूपान्तरण गर्दै लिएर आउने तर बीपीमाथि नै औंला उठाउने प्रकारको व्यवहार गलत भएको बताएका छन ।

उनले इतिहासलाई बंग्याउनेभन्दा इतिहासप्रति समर्पित हुने शिक्षा पछिल्लो पुस्तालाई दिन जरुरी भएको बताएका छन । उनले इतिहासलाई गाली गरेर सुन्दर भविष्य बनाउन नसकिने बताएका छन ।

उनले भने, ‘एमाले पार्टी अध्यक्ष, यो देशका पूर्व प्रधानमन्त्री सम्माननीय कमरेड केपी ओलीले तुल्सीलाल अमात्यको स्मृति दिवसको दिन बोल्दै गर्दा बीपी कोइरालाको बारेमा, बीपी कोइरालाले २०३३ सालमा लिनुभएको मेलमिलापको नीतिको बारेमा जे बोल्नुभयो, वास्तवमा त्यो कुनै प्रतिक्रियायोग्य, टिप्पणीयोग्य नै छैन ।

बिहानै घरबाट हिँड्ने बेलामा आदरणीय राधिका भाउजुसँग ठाकठुक परेर हिँड्नुहुन्छ कि बेलाबेला, सालिन व्यक्तित्व हुनुहुन्छ उहाँ, राधिका शाक्य । त्यस्तो त पक्कै हुँदैन होला ।

खगेन्द्र संग्रौलाले कसैको प्रशंसा गरेर लेख्नुभयो, अनि कमरेड केपी ओलीले आफ्नो समग्र मन्तव्यभित्र कसैका बारेमा तिक्तता व्यक्त नगरी टुंग्याउनुभयो भने नेपाली समाजले अनौठो मान्नुपर्ने अवस्था बनिसकेको छ ।

जीवित व्यक्तिको बारेमा तीतो टिप्पणी गर्दा जवाफ दिनका लागि उहाँहरू नै हुनुहुन्छ । शुरूमा सँगै एउटै पार्टी बनाउनुभयो, कमरेड प्रचण्ड समेतसँग ।

माधव नेपालहरू र प्रचण्ड छुट्टिएपछि फर्सीको कुहिएको भेट्ना झरेर गए भनेर बोलिदिनुभयो । २ वटा नट बोल्ट नै खुस्केपछि गाडी राम्रोसँग कुद्यो भन्न थाल्नुभयो ।

एउटा सभामा कसैको मृत्यु भएको भए श्रद्धाञ्जलि भन्न हुन्थ्यो पनि भन्नुभयो । यो सुसंस्कृत प्रस्तुति सम्माननीय केपी कमरेडबाट भइरहेको छैन ।

बीपी कोइरालाले संघर्ष गर्न नसकेर ३३ सालको मेलमिलापाको नीति लिनुभएको हो ? बीपी कोइरालाको बारेमा यो बुझाइ नेकपा एमालेको संस्थागत बुझाइ हो ? म सार्वजनिक रूपमा प्रश्न सोध्न चाहन्छु – बीपी कोइरालाले संघर्ष देशमा भित्र्याएको होइन र ? यो देशमा राणासँग लड्न बन्दुक नै बोकेर काँधमा उभिएर जानुपर्छ भनेर बीपीकै प्रेरणा र विचारको नेतृत्वमा २००७ सालको क्रान्ति भएको होइन र ?

बीपी कोईराललाई संघर्ष अब अहिले आएर सिकाउने हो रु बीपी कोइराला संघर्ष, सिद्धान्त, संयम, समुन्नतिको मार्गचित्र स्पष्ट बोकेको राजनेता हुनुहुन्थ्यो । आजको समयमा बीपी कोइरालालाई बुझ्नलाई मदन भण्डारीको आँखाबाट पढे पनि पुग्छ ।’