सुन तस्करी प्रकरणलाई लिएर एमालेले गर्‍यो राष्ट्रिय सभाको बैठक पनि अवरोध

१८ श्रावण २०८०, बिहीबार १४:०७

काठमाडौं, १८ साउन – सुन तस्करी प्रकरण विषयलाई लिएर नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गरेको हो । एमालेकै विरोधका कारण प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध छ ।

निरन्तर संसद् अवरुद्ध हुँदै आएको विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको ध्यानाकर्षण गराएका छन्। उनले संसद् खुलाउने विषयमा पहल लिन आग्रह गरे। एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गते सोमबार १ बजे बस्ने गरी स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । भन्सार यार्ड पार गरेर बाहिरिएको क्विन्टल सुन बरामद भएको दुई साता बितिसक्दा तस्करीमा प्रयोग भएका व्यक्ति मात्र पक्राउ परेका छन् ।

सुन बरामद हुँदा एक भन्सार एजेन्ट र एक ट्याक्सी चालक पक्राउ परेका थिए । त्यसबाहेक भन्सार अधिकृत, तीन भन्सार एजेन्ट र तीन विदेशी नागरिकसहित १७ जना समातिएका छन् ।