काठमाण्डौ, १७ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एक क्वीन्टल सुन प्रकरणमा सरकारले थालेको अनुसन्धान प्रक्रियालाई प्रमुख प्रतिपक्षी दल एमालेले सघाउनुपर्ने बताएका छन् ।
आज (बुधबार) केन्द्रीय समिति बैठकमा भाग लिन प्रज्ञाभवन कमलादीमा पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन ।
उनले भइरहेको अनुसन्धान कार्यमा एमालले सहयोग गर्न आग्रह समेत गरेका छन । सुन प्रकरणमा उच्चस्तरीय समिति गठन गर्न माग गर्दै एमालेले संसद अवरोध गरेपछि प्रतिनिधिसभा बैठक साउन २२ सम्मका लागि स्थागित गरिएको छ ।
उनले भने, ‘सुन प्रकरणलाई लिएर एमालेले संसद अवरोध गर्न आवश्यक छैन । यस विषयमा सरकारकै निकाय केन्द्रीय अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाएको छ’ उसले अनुसन्धान गरिसकेपछि चित्त बुझेन भने उच्चस्तरीय छानविनको माग राख्दा उचित होला ।
अहिले नै अनुसन्धान कार्यलाई प्रभावित पार्ने हिसाबले संसद अवरोध गर्नु उचित छैन ।’ त्यस्तै उनले केन्द्रीय समिति बैठकबाट माओवादी आफ्नै खुट्टामा उभिने पनि बताएका छन ।
उनले अहिलेसम्म भएका कमी कमजोरीबारे बैठकमा गम्भीर छलफल हुने भन्दै उनले आवश्यक परे फेरि संघर्षको नेतृत्व लिनेगरी पार्टीले कार्यक्रम ल्याउने बताएका छन ।
