रोहित चौधरीको हत्या आरोपमा दुई जना पक्राउ

१७ श्रावण २०८०, बुधबार १४:१९


काठमाण्डौ, १७ साउन– प्रहरीले विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

रोहितको साउन ५ गते सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या गरीएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सोही दिन बेलुका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

उनको हत्या आरोपमा प्रहरीले १० दिनपछि दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । उनीहरुलाई बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्नको आरोपमा पक्राउ परेकाहरुलाई प्रदेश प्रहरी कार्यालयमा सार्वजनिक गर्ने तयारी गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

२८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कने क्रममा रोहितमाथि धरान इटहरी सडक खण्डको सेउती खोला पुलको दक्षिणतर्फ गोली प्रहार भएको थियो ।

मोटरसाइकल रोकेर पिसाब गर्न जाने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।