काठमाण्डौ, १६ साउन– कोशी प्रदेशको मुख्यमन्त्रीमा फेरी पनि कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि मंगलबार साँझसम्मको समय आज सकिदै छ । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धनको तर्फबाट थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति भएको जानकारी दिएका छन ।
प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिने पनि उनले जानकारी दिएका छन ।
मंगलबार दिउँसो ४ बजेपछि प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित थापाले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने आङ्बोले बताएका छन । सभामुख गौतम काठमाण्डौंबाट मंगलबार नै विराटनगर फर्किँदैछन् ।
उनी ३ बजे फर्किने जानकारी पाएका सत्तारुढ गठबन्धनका नेताहरु उनलाई पर्खिरहेका छन । २१ असारमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४६ प्रदेशसभा सदस्य र सभामुख गौतमको छुट्टै समर्थन लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर सर्वोच्च अदालतले सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने फैसला गरेपछि थापा पदमुक्त भएका थिए । अहिले उनै सभामुखलाई राजीनामा गराएर उनको समर्थनमा थापाले पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।
सभामुखबाट राजीनामा दिएर गौतम माओवादी केन्द्रको प्रदेशसभा सदस्यमात्र रहनेछन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेस नेता थापालाई उनको पार्टीका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन रहनेछ ।
