नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण खाँणलगायतका नेताका सम्बन्धमा अदालतले माग्यो कैफियत प्रतिवेदन

१६ श्रावण २०८०, मंगलवार १४:१८

काठमाण्डौ, १६ साउन– उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, एमालेका नेता टोप बहादुर रायमाझी लगायतको सम्बन्धमा कैफियत प्रतिवेदनको माग गरेको छ ।

उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतसँग उनीहरूको सम्बन्धमा कैफियत प्रतिवेदन माग गर्ने आदेश जारी गरेको छ ।

आफूहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै कांग्रेस नेता बालकृष्ण खाँण, एमालेका नेता टोपबहादुर रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल लगायतका व्यक्तिहरू उच्च अदालत पाटनमा निवेदन लिएर गएका थिए ।

उच्च अदालत पाटनले उनीहरूको हकमा कैफियत प्रतिवेदन माग गरेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिएका छन ।

उनीहरूलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नाको कारण के हो भनी काठमाडौँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिएको कट्टेलले जानकारी दिएका छन ।

आगामी बिहीबारसम्म कैफियत प्रतिवेदन आइपुग्ने र अर्को बिहीबारसम्म पेसी तोकिने कट्टेलले बताएका छन । निवेदनमा खाँण लगायतका नेताहरूले प्रमाणको मूल्याङ्कन नगरिएको र मुद्दाको विषयवस्तु नै नबुझी थुनामा पठाएको भन्दै थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन् ।