काठमाण्डौ, १६ साउन– कोशी प्रदेशको मुख्यमन्त्री बाबुराम गौतमले पनि दाबी गरेका छन । सभामुख बाबुराम गौतमले आफुले सभामुख त्याग्नु परे मुख्यमन्त्री बनाउनुपर्ने सर्त अघि सारेका छन् ।
केन्द्रीय नेतृत्वले सभामुखबाट राजीनामा दिएर बहुमत पुर्याउन बारम्बार दबाब दिएपछि राजीनामा दिने तयारीमा रहेका गौतमले मुख्यमन्त्रीमा दाबी गर्दै बार्गेनिङ गरेको नेकपा माओवादी केन्द्र निकट उच्च स्रोतले जानकारी दिएको छ ।
केन्द्रीय नेतृत्वले भने सभामुख छोडेर रोजेको मन्त्रालय लिन प्रस्ताव गरेको छ । तर मन्त्रीभन्दा माथिल्लो पद त्यागेपछि तल झरेर मन्त्री नखाने भन्दै गौतमले मुख्यमन्त्रीमा दाबी गरेका हुन ।
कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज साँझ सकिँदैछ । समय घर्किँदै जाँदा दलहरुलाई बहुमत जुटाउन निक्कै सकस परिरहेको छ ।
नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका तर्फबाट उद्धव थापा, माओवादी केन्द्रका तर्फबाट ईन्द्र आङबो र सभामुख गौतमसहित ३ जनाले दाबी गरेका छन् ।
