काठमाण्डौ,१५ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन ।
साथै उनले दोषी ठहरिए कारबाही आफु भोग्न तयार रहेको बताएका छन । आज सोमबार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पुनले यस्तो बताएका हुन ।
उनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने पनि बताएका छन । उनले अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरित्र हत्या गर्ने भन्दा पनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने बताएका छन ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान हो ।
यसमा मेरो पूरै समर्थन छ । मेरो कहीँ कतै संलग्नता छैन । म कतै जोडिएको छैन । गत आठ वर्ष पहिले पारिवारिक खालको फोटोलाई राखेर हो जस्तो पारिएको छ ।’
उनले राज्यका निकायहरूले पूर्वाग्रही गर्न नहुने र राज्यले न्यायोचित ढंगले छानबिन गर्नुपर्ने बताएका छन । उनले भने, ‘मेरोबारेमा पनि ठोस रूपले त उठेको छैन ।
कुन निकायले छानबिन गर्नुपर्ने हो म माथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु, ‘र, म दोषी ठहरिए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु ।
राजनीतिक, व्यक्तिगत चरित्र हत्या गर्ने भन्दा पनि तथ्यमा पुगेरअनुसन्धान गर्नुपर्छ । न्यायिक समिति, संसदीय छानबिन समिति वा प्रहरी कसबाट अनुसन्धान हुनुपर्ने हो म उभिन तयार छु ।’
