अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जान्छ: प्रधानमन्त्री प्रचण्ड

१५ श्रावण २०८०, सोमबार १६:०३

काठमाण्डौ,१५ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन ।

आज (सोमबार) साउन १५ का अवसरमा सिंहदरवारस्थित खिर खाने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जान्छ ।

त्यसमा दायाँबायाँ हुँदैन । अब ढुक्कसँग काम गर्नुस् बीचमा थोरै गठबन्धन के होला जस्तो भयो । अब सबै अन्योल हटेको छ ।’

प्रधानमन्त्रीले हिजोमात्र प्रधानमन्त्री कार्यालयलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल गरिएको भन्दै खिर खाने कार्यक्रम राखेर राम्रै भएको बताएका छन ।

उनले भने, ‘यो हाम्रो आफ्नै मौलिक चाड पनि हो । यसले एक आपसमा घुलमिल गर्न सहयोगै गर्छ भन्ने ठानेको छु’ । साउन २ देखि १० गतेसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको भन्दै उनले कांग्रेसकै सहमतिमा समाजवादी मोर्चा समेत बनेकाले गठबन्धन ५ वर्ष जानेमा कुनै शंका नगर्न आग्रह गरेका छन ।