एमालले आफ्नो अडान नछाड्दा आजको प्रतिनिधिसभा बैठक स्थगित

१५ श्रावण २०८०, सोमबार १४:४०

काठमाण्डौ,१५ साउन– प्रमुख प्रतिपक्षी दल एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आज (सोमबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन ।

सोमबार सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा एमालेले उच्चस्तरीय समिति गठन नभएसम्म अवरोध जारी राख्ने बताएको थियो ।

एमालेले साउन १० गते पनि उच्चस्तरीय समितिको माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको थियो । एमाले सचेतक महेश बर्तौलाले छलफलमा आफ्नो कुरा राखेको बताएका छन । उनले भने, ‘हामीले हाम्रो कुरा राख्यौ तर कुनै सहमति भएको छैन’ ।