ठमेलको होटल भियनामा छापा, एक जना पक्राउ

१४ श्रावण २०८०, आईतवार १२:२०

काठमाण्डौ, १४ साउन– राजश्व अनुसन्धान विभागले एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि ठमेलस्थित होटल भियनामा छापा मारेको ।

आज (आइतबार) विभागको टोलीले बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको विभाग उच्च स्रोतले जानकारी दिएको छ ।

विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेको विभाग उच्च स्रोतले जानकारी दिएको छ ।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।

पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको अनुसन्धानमा संलग्न एक अधिकृतले जानकारी दिएका छन ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो ।

त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।विभागका अधिकारीहरुका अनुसार, ब्रेक शुभित्र लुकाएर सुन नेपालमा ल्याइएको थियो ।

सुन ल्याउने रेडी ट्रेड प्रा.लि.का सञ्चालक दोलखाका दिलीप भुजेललाई पनि विभागले पक्राउ गरेको छ ।तर, तस्कर समूहले उनलाई २० हजार रुपैयाँ दिएर ‘फर्जी’ सञ्चालकको रुपमा खडा गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

यसपछि यो प्रकरणमा एक जना चिनियाँ नागरिकसहित भारतीय मुलका तिब्बतीन नागरिक समेत पक्राउ परेका छन् ।