काठमाडौं, १२ साउन– सवारी दुर्घटनामा परी घाइते भएकी ताप्लेजुङ पापुङकी हिसेडोमा शेर्पाको निधनले गाउँ शोकमग्न बनेको छ । झापाको बीएनसी अस्पतालमा उपचारका क्रममा २६ वर्षीया शेर्पाको बिहीबार बिहान मृत्यु भएपछि मिक्वाखोला गाउँपालिका –५ पापुङको सिम्बुक गाउँ शोकमग्न बनेको हो ।
गएको मङ्गलबार मेची राजमार्गको इलाम–पाँचथर सडकखण्ड अन्तर्गत फिदिम नगरपालिका –२ साम्दिनमा मे १ ज १९४१ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकी शेर्पालाई सोही दिन उपचारका लागि बीएनसी लगिएको थियो ।
अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा शेर्पाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको पापुङका स्थानीय सागर शेर्पाले बताए। हाल काठमाडौं होटल व्यवसाय सञ्चालन गर्दै आएकी शेर्पा आफ्नो गाउँ पापुङ फर्कने क्रममा जिप दुर्घटनामा परेकी थिइन् ।
शेर्पाको शव कानुनी प्रक्रिया पूरा गरेर आफ्नै गाउँ पापुङको सिम्बुक ल्याएर अन्त्येष्टि गरिने पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए।
यसअघि उक्त दुर्घटनामा परी ताप्लेजुङकै मैवाखोला गाउँपालिका –१ ढुङ्गेसाँघुका ४२ वर्षीय जितेन्द्रमणिविक्रम वनेमको सोही दिन निधन भएको थियो । चालकसहित १४ जना यात्रु सवार उक्त जिप झापाको बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउने क्रममा ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरी स्रातले बताएको छ ।
