काम चलाउ मुख्यमन्त्री आफू भएको दाबी गर्दै कार्यालय जान गाडी कुरेर बसेका छन् कार्की

१२ श्रावण २०८०, शुक्रबार १७:०२

काठमाण्डौ, १२ साउन– सर्वोच्च अदालतले उद्धव थापाको नियुक्ति बदर गरेपछि आफू कामचलाउ मुख्यमन्त्री भएको दाबी गरेका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री कार्यालय फर्कन गाडी कुरेर बसेका छन ।

मुख्यमन्त्री कार्यालयलाई आज शुक्रबार हाजिर हुन आउने जानकारी गराएका कार्कीको सचिवालयले शुक्रबार बिहान विराटनगर एयरपोर्ट गाडी पठाउन भनेको थियो ।

तर काठमाण्डौंबाट फर्किएर कार्यालय जान खोजेका कार्कीलाई लिन प्रदेश प्रमुख सचिवले मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी भने पठाएको छैन् ।

अर्कै गाडी पठाएपछि कार्की प्रमुख प्रतिपक्षी दलको नेताले प्रयोग गर्ने गाडी चढेर पिपलचोक स्थित निवास पुगेका छन ।निवासमा रहेका उनी कार्यालय फर्कन गाडी पर्खिरहेका हुन् ।

प्रमुख सचिवले गाडी पठाएपछि कार्की मुख्यमन्त्री कार्यालय जाने एमाले प्रमुख सचेतक रेवतीरमण जानकारी दिएका छन । उनले अदालतले सुरुकै विन्दुबाट सरकार गठनको आदेश गरेपछि कार्की स्वत कामचलाउ मुख्यमन्त्री भएको दाबी गरेका छन ।

‘अदालतको आदेश त स्पष्ट छ नि, सरकार विहिन अवस्था हुँदैन, उनले भने, उद्धव थापाको नियुक्ति सुरुबाटै बदर भयो, बदर भएपछि हिजोकै अवस्था आइहाल्यो नि ।’

संघीय सरकारले निर्देशन नदिएका कारण प्रदेशको प्रमुख सचिवले मुख्यमन्त्री चढ्ने गाडी नपठाएको उनले आरोप लगाएका छन ।