एक क्विन्टल सुन प्रकरण स् चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजस्वको खानतलासी

११ श्रावण २०८०, बिहीबार १७:५७


काठमाण्डौ, ११ साउन– राजश्व अनुसन्धान विभागले लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा खानतलासी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको स्रोतले जानकारी दिएको छ ।

त्यसक्रममा केही बाकसहरु विभागले बरामद गरेको छ । तर, त्यसमा सुन नभेटिएको विभागका एक अधिकारीले जानकारी दिएका छन । घरलाई अहिले विभागले शिल गरेको छ ।

विभागका एक अधिकारीका अनुसार, त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकहरुको पनि आउजाउ हुने गरेको देखिएको छ । अन्य चिनियाँबारे विभागको टोलीले अनुसन्धान गरिरहेको छ ।

विभागले सशस्त्र प्रहरीको सहयोगमा यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो । त्यहाँबाट ब्रेक शु बरामद गरिएपनि त्यसमा सुन नभेटिएक अनुसन्धानमा संलग्न अधिकारीहरु जानकारी दिएका छन ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेको थियो ।