महोत्तरीबाट एक जना मिटरब्याजी पक्राउ

११ श्रावण २०८०, बिहीबार १५:०२

काठमाण्डौ, ११ साउन– प्रहरीले महोत्तरीमा एकजना मिटरब्याजीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगाहा नगरपालिका–६ का इन्द्रजित साह रहेका छन ।

उनलाई बुधबार अपराह्न जिल्ला प्रशासन कार्यालय महोत्तरी परिसरबाट नियन्त्रणमा लिइएको महोत्तरीका डिएसपी दीलिपकुमार गिरीले जानकारी दिएका छन ।

बुधबार मिटरब्याजबारे छलफल गर्न साहलाई जिल्ला प्रशासन कार्यालयमा बोलाइएको थियो। सहायक सिडिओ, पीडित र प्रहरीसँगै सरोकारवाला निकायका व्यक्तिहरूसहितको छलफलमा विवाद भएपछि साहलाई नियन्त्रणमा लिइएको हो।

उनले भने, ‘मिटरब्याज लगाएर हडपेको जग्गाजमीन फिर्ता गर्नेबारे छलफल भएको थियो । त्यसक्रममा उनले फिर्ता नगर्ने भनेर विवाद गर्न खोजेपछि हामीले नियन्त्रणमा लिएका हौं,’ ।

अपराह्न साढे चार बजे नियन्त्रणमा लिएर उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीविरूद्ध ६र७ जनाले उजुरी दिएको डिएसपी गिरीले जानकारी दिएका छन ।