काठमाण्डौ, ११ साउन– साउदी अरबको अल हिलालले विश्व कीर्तिमानी २ सय ५९ मिलियन पाउन्डको अफर गरेपछि यति बेला विश्वकप विजेता केलियन एमबाप्पे दोधारमा रहेका छन ।
त्यस प्रस्तावबारे कुरा गर्न पेरिस सेन्ट जर्मन–पीएसजीले एमबाप्पेलाई अनुमति पनि दिएको छ। यसबारे एमबाप्पेले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।
त्यसो त यो प्रस्तावलाई पीएसजीले स्वीकार गरेर मात्र हुँदैन, एमबाप्पे सहमत पनि हुनुपर्छ। तर पीएसजीले एमबाप्पेमाथि दबाब बढाइरहेको रहेको छ ।
२४ वर्षीय यी स्ट्राइकर र पीएसजीबीचको सम्झौता अब एक वर्ष मात्र बाँकी रहेको छ । जसरी पनि एमबाप्पेलाई एक वर्षअघि क्लबबाट बिदा गरेर मोटो रकम आर्जन गर्ने दाउमा पीएसजी देखिएको छ।
आगामी सिजनपछि एमबाप्पेले आफूले चाहेको क्लबमा जान सक्नेछन् र त्यसबापत पीएसजीले कुनै रकम प्राप्त गर्ने छैनन् ।
पीएसजीले प्रिसिजन भ्रमणमा एमबाप्पेलाई टोलीमा समावेश गरेको छैन। पीएसजीका अध्यक्ष नासर अल खेलाइफीले क्लबबाट नबाहिरिए आगामी सिजन एमबाप्पेलाई बेन्चमै सीमित गर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ। यस कारण पनि एमबाप्पे दबाबमा देखिएका छन्।
सन् २०१७ मा मोनकोलाई पीएसजीले एक सय ८० मिलियन पाउन्ड ट्रान्सफर रकम बुझाएर भित्र्याएको थियो। त्यसयता एमबाप्पेले पीएसजी र विश्व फुटबलमा केही विश्व कीर्तिमान बनाएका छन्।
