काठमाडौं, ११ साउन – मृत भेटिएका वरिष्ठ सईको उज्जल पौडेलको हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
गत मंगलबार बिहान २ बजेतिर बागलुङको बडिगाड गाउँपालिका–६ स्थित खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा मृत फेला परेका इप्रका भीगिठ्ठेका प्रमुख पौडेलको हत्या आरोपमा प्रहरीले होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई निन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिए अनुसार अनुसन्धानका क्रममा होटल सञ्चालक आमा–छोराले मिलेर वरिष्ठ सई पौडेलको हत्या गरेको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसप) मदन केसीले वरिष्ठ सई पौडेल सोमबार राति होटल गएका बेला सञ्चालक आशा कुँवरसँग विवाद बढेपछि आमा–छोरा मिलेर वरिष्ठ सईलाई मरणासन्न हुने गरी कुटपिट गरेको बताए ।
कुटपिटपछि भुइँमा ढलेका पौडेलको घाँटीमा पर्दाको कपडाले कसेर राति २ः३० बजेको समयमा हत्या गरिएको देखिएको डीएसपी केसीले जानकारी दिए।
उनीहरुले वरिष्ठ सई पौडेलले घाँटीमा लगाएको सुनको सिक्री समेत लुटेको पाइएको प्रहरीले जनाएको छ। सई पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटेलको किचन र्याकमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
