काठमाण्डौ, १० साउन– जसपाका प्रमुख सचेतक प्रदीप यादवले संसदबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई महाभियोग लगाउन माग गरेका छन ।
आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो माग गरेका हुन । उनले जनप्रतिनिधिले निर्वाचन खर्च नबुझाएको भन्दै विज्ञप्ति निकालेर चरित्रहत्या गरेको आरोप लगाएका छन ।
उनले भने, ‘हिजोमात्र प्रमुख निर्वाचन आयुक्तले एउटा विज्ञप्ति जारी गर्नुभएको छ । जनप्रतिनिधिहरुले खर्च विवरण बुझाएन, सार्वजनिक गरेन भनेर विज्ञप्ति निकाल्नुभएको छ ।
त्यो विज्ञप्ति कस्तो छ भने जनप्रतिनिधिहरुको चरित्र हत्या हुनेगरी योजना बनाएर प्रमुख आयुक्तले विज्ञप्ति जारी गर्नुभयो सभामुख महोदय । जबकि हामीले समयमै खर्चको विवरण बुझाएका छौँ ।
जिल्ला निर्वाचन कार्यालयमा रेकर्ड छ । हामीले आफ्नो फेसबुक पेज मार्फत, सामाजिक सञ्जालमार्फत खर्चको विवरण सार्वजनिक पनि गरेका छौँ ।’
उनले अगाडि भने,‘तर जानीजानी कानुनको आफैँ व्याख्या गरेर प्रमुख आयुक्तले जनप्रतिनिधिहरुको चरित्रहत्या गर्न खोज्नुभएको छ, त्यो खेदजनक छ ।
त्यसैले म यो सदनमार्फत प्रमुख आयुक्त ज्यूलाई माफी माग्नका लागि अनुरोध गर्दछु । माफी माग्नुभएन भने त्यस्ता प्रमुख आयुक्तलाई बाध्य भएर कि त हामीले मानहानिको मुद्दा ठोक्नुपर्छ, अथवा महाभियोग लगाउनुपर्छ ।’
