काठमाण्डौ, १० साउन– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करीको जरोसम्म पुग्न माग गरेका छन ।
आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले यस्तो बताएका हुन । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन तस्करी प्रकरणको जरोसम्म पुग्न नसकेको बताउँदै सरकार त्यसतर्फ अग्रसर नभएको पनि बताएका छन ।
उनले भने, ‘अहिलेपनि हामीले ! क्विन्टल, डेढ क्वीन्टल सुन प्रक्रिया, यो चानचुने कुरा हो भनेर सरकारको तर्फबाट आइरहेको छ ।
त्यो कुनै सूचनाको आधारमा पक्राउ पर्योन होला नि त । त्यो सूचनाको स्रोत को हो ? त्यो सूचना दिने स्रोतले त्यसमा को को संलग्न छ भन्ने सूचना दिएन होला ?
कि यो कुनै बाह्य दबाब र सूचनाको आधारमा कसैलाई देखाउनकै निम्ति यो एक ट्रिप सुन पक्रने काम भएको हो ? हामीलाई आएको केही सूचना अनुसार यो आकस्मिक रुपमा पक्रेको वा थाहा पाएको आधारमा पक्रेको होइन ।
नेपाल सुन तस्करको ट्रान्जिट पोइन्ट भइरहेको छ । अरुले दिएको सूचना र दबाबका आधारमा पक्राउ भएको भन्ने कुरा बजारमा आएको छ ।’ उनले भरियालाई पक्रेर सुन तस्करका नाइकेहरुलाई जोगाउन काम नगर्न सरकार सँग माग गरेका छन ।
