अवैध सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन एमालेको माग

१० श्रावण २०८०, बुधबार १६:१२

काठमाण्डौ, १० साउन– प्रमुख प्रतिपक्षी दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा सरकारको नै संरक्षण रहेको बताएको छ ।

आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकको सुरुमा आकस्मिक समय लिएर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले एक क्वीन्टल बढी सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संरक्षण रहेको बताएका छन ।

उनले उच्चस्तरीय छानबिन समिति बनाउन समेत माग गरेका छन । उनले उच्चस्तरीय छानबिन समिति नबनाएर एमालेले संसद् चल्न नदिने गिरीले बताएका छन ।

उनले पछिल्लो १ वर्षयताको अवस्था हेर्दा विमानस्थलको सुरक्षा व्यवस्था फितलो बनाइएको बताएका छन । पौष १० गते दुबईबाट ९ किलो सुन विद्युतीय चुरोटभित्र सुन ल्याएको माघ २९ गतेसम्म भन्सारभित्रै राखिएको र बाहिर ल्याउन कृष्णबहादुर महराका बाउछोराले धेरै पटक फोन गरेको कुरा बाहिर आएको बताउँदै सत्तापक्षकै नेता कृष्णबहादुर महराले १९५ पटक चिनियाँ व्यापारीलाई फोन गरेको तथ्य बाहिर आउँदा पनि छानबिन नभएकोमा भन्दै प्रश्न गरेका छन ।

उनले भन्सार कार्यालयका कर्मचारी भक्तिराज श्रेष्ठलाई महराले धेरै दबाब दिएको तर श्रेष्ठले आफूले स्वीकार नगरेको बयान दिएको बताएका छन ।

प्रमुख सचेतक गिरीले पछिल्लो पटक १ क्विन्टलभन्दा बढी सुन आएको, त्यहाँ सुरक्षाकर्मी, भन्सारका कर्मचारी रहेको, विभिन्न सेटिङ मिलाएर बाहिर निकालेपछि राजस्व अनुसन्धान विभागले समातेको बताएका छन ।