चितवनमा बाढीले डुवायो बस

१० श्रावण २०८०, बुधबार १५:१९

काठमाडौं, १० साउन– चितवन माडी घाँघर खोला तर्दै गरेको बसलाई बाढीले डुबाएको छ । माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो ।

ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेको समयमा बस खोलामा फसेको बताइएको छ । उक्त बसमा चालकसहित ३ जना रहेको जानकारी गराइएको छ। उनीहरु सबै सकुशल उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक दीपक रिजालले भने ‘सुरुमा पानी कम हुँदा बस खोलामा हालेछन्, बालुवामा बस भासियो, पछि खोला बढेर आउँदा निकाल्न सक्ने अवस्था भएन, बस कोल्टिएर डुब्ने अवस्था आयो ।’

माडीको उक्त क्षेत्रमा हिजो रातिदेखि नै ठूलो पानी परेको थियो । उक्त खोलाको बाढी अहिले भने घट्दै गएको छ । माडी–ठोरी हुलाकी सडक अन्तर्गत पर्ने घाँघर खोलामा पुल निर्माणको काम सुरु भए पनि सकिएको छैन ।