गृहमन्त्रीसँग जवाफ माग्ने एमालेको निर्णय

१० श्रावण २०८०, बुधबार १५:०७

काठमाण्डौ, १० साउन– प्रमुख प्रतिपक्षी एमालेले अवैध सुन आयात प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने भएको छ ।

नयाँबानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक रुपमा प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।

बैठकपछि एमालेका एक नेताले भने, ‘सशक्त ढंगले अगाडि बढ्ने, सुन प्रकरणमा गृहमन्त्रीमाथि नैतिक रुपमा प्रश्न गर्ने, छानबिनको माग गर्ने, जवाफ माग्ने निर्णय भएको छ ।

तथ्यगत रिपोर्ट के हो जवाफ माग्ने नै मुख्य निर्णय हो ।’ एमाले नेता रघुजी पन्तले एक क्विन्टल सुन अवैध रुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक–पटक सामान ल्याएको देखिएको उल्लेख गर्दै त्यसबारे पनि छानबिन हुनुपर्ने बताएका छन ।