कोशीका मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिट निवेदन ‘हेर्दाहेर्दै’मा

९ श्रावण २०८०, मंगलवार १७:०१

काठमाण्डौ, ९ साउन– कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आज मंगलबार पूर्ण इजलासले सुनुवाइ गर्दै ‘हेर्दाहेर्दै’मा राखेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, तिलप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराई को पूर्ण इजलासमा आज (मंगलबार) रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।

प्रतिवादी तर्फका कानुन व्यवसायीले मंगलबार नै बहस सुरु गरे पनि नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको हो । सोमबारमात्र न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।