काठमाडौं, ८ साउन– नेपालको कम्युनिष्ट आन्दोलनका योद्धामध्येका एक योद्धा दलु छायाँ अर्थात दलबहादुर भुजेलको निधन भएको छ ।
उनको ७७ वर्षको उमेरमा (आज) सोमबार उपचारको क्रममा निधन भएको हो । उनी वि.स. २००३ सालमा सुनसरीको धरानमा जन्मिएका थिए । भुजेलले पञ्चायती व्यवस्थाविरुद्ध जनतालाई सचेत गराउने काममा अग्रपक्तिमा रहेर भूमिका खेलेका थिए ।
नेकपा एमालेले छायाँको निधनप्रति शोक वक्तव्य जारी गर्दै दुख प्रकट गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्धारा जारी शाक वक्तव्यमा उनको पार्टीप्रतिको निष्ठा र योगदान सदा प्रेरणादायी रहने उल्लेख गरिएको छ ।
मिर्गौलासम्बन्धी समस्याका कारण उपचाररत छायाँलाई एमालेले गत वैशाखमा पार्टी स्थापना दिवसका अवसरमा कम्युनिष्ट योद्धाका रूपमा सम्मान गरेको थियो ।
पञ्चायती व्यवस्था विरुद्धको लडाईंमा पटक–पटक जेल जीवन बिताएका छायाँ झापा आन्दोलनका शहीदहरूलाई पक्राउ गर्दा उनी पनि पक्राउ परेपनि प्रहरी हिरासतबाट भागेर बाँचेको एमाले नेताहरुले बताउने गरेका छन् ।

