सभामुख घिमिरे र चिनियाँ नेता च्युनबीच भेटवार्ता, के भयो कुराकानी ?

८ श्रावण २०८०, सोमबार १५:१९


काठमाण्डौ, ८ साउन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युयान च्या च्युनबीच भेटर्वाता भएको छ ।

आज (सोमबार) भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

भेटर्वाताको क्रममा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरेका थिए ।

‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास’ समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’

सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे ।

संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको भन्दै उनले तत्कालिन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धी र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिएका छन् ।

जनगणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चानशुको गएको वर्ष भएको भ्रमण र नेपालको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको एकमहिना अघि भएको भ्रमणले संसदीय आदान प्रदान विस्तारित हुँदै गएको सभामुखको भनाइ छ ।

चीन संसारको आर्थिक शक्ति रहेको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाललाई अन्नको भण्डार बनाउन नमूना कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरेका छन ।

यस्तै भेटकाक्रमा नेता च्याचिनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तोसमेत दिए ।सोमबार नै एलआरआई स्कूल कलंकीमा भएको कार्यक्रममा सभामुख घिमिरे र नेता च्याचिनले भाषा ल्याबको सुरुवात गरेका छन् ।