काठमाण्डौ, ८ साउन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिँदै गरेको करिब एक क्विन्टल सुन प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले गरेको अपरेसनको क्रममा अहिलेसम्म १६ जना पक्राउ परेका छन ।
आइतबार भन्सारका ३ कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेसँगै हिरासतमा रहेनको संख्या १६ पुगेको विभाग सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिएका छन ।
आइतबार पक्राउ पर्नेहरुमा विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ गरी तीन भन्सार कर्मचारी रहेका छन ।
त्यसैगरी भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली रहेका छन ।लयसअघि १० जनालाई राजश्वको टोलीले पक्राउ गरेका थिए ।
सुन बरामद भएकै रात ६ जना पक्राउ परेका थिए। भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा ट्याक्सी चालक अशोक रानामगरलाई नियन्त्रणमा लिएको थियो।
लामा बा२ज २३२४ नम्बरको ट्याक्सी चालक हुन्। उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो।
उनीसँगै एक क्विन्टल सुन आएको रेडी ट्रेडका सञ्चालक दोलखा घर भई काठमाडौं बस्दै आएका २१ वर्षीय दिलिप भुजेल पनि पक्राउ परेर अहिले विभागको हिरासतमा छन्।
भुजेलको रेडी ट्रेडमार्फत स्कुटरको ब्रेक सुको रुपमा उक्त सुन भित्रिएको हो। दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरकै अरुण गाउँपालिका–४ घर भई काठमाण्डौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई गरी ६ जनालाई सुन बरामद गरिएकै रात प्रहरीले पक्राउ गरेको थियो।
पछि यो प्रकरणमा चिनियाँ नागरिक र कार्गो कम्पनीको सञ्चालकसहित ४ जना पक्राउ परे। चीन भाग्न लागेको अवस्थामा विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवान पक्राउ परे।
उनी सात महिनादेखि बिजनेस भिसामा काठमाडौंमा बस्दै आएको खुलेको छ। त्यसैगरी कोटेश्वरबाट कार्गो कम्पनीका सञ्चालकहरु राजनराज श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन ।
अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो।
जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।
