चीनमा जिम हाउस भत्किँदा ११ जनाको मृत्यु

८ श्रावण २०८०, सोमबार १०:३३

काठमाडौं, ८ साउन– चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा ११ जनाको च्यापिएर मृत्यु भएको हो ।

उक्त क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ जना भग्नावशेषमा च्यापिएका थिए । तीमध्ये ११ जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ । मृतकमध्ये धेरैजसो बालबालिका छन् ।

जिम हाउस सन्चालकलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । एजेन्सी