सोलद्वारा जहाज जफत

१५ पुष २०७४, शनिबार ०९:५१

पुस १५, सोल,(एजेन्सी)
दक्षिण कोरियाले गत महिना उत्तर कोरियामाथि अन्तराष्ट्रिय नाकाबन्दी उल्लंघन गर्दै उत्तरलाई तेल आपूर्ति गर्न प्रयोग हुन लागेको आशंकामा हङकङमा दर्ता गरिएको एउटा जहाज जफत गरेको जनाएको छ ।
अधिकारीहरुले लाइटहाउस विनमोर नामक सो जहाजले गोप्य ढंगले एउटा उत्तर कोरियाली जहाजलाई ६ सय टन तेल उपलब्ध गराएको जानकारी दिएका छन् ।


संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले प्योङयाङतर्फ गइरहेको कुनै पनि जहाजलाई जहाजबाटै केही पनि वस्तु हस्तान्तरण गर्न प्रतिबन्ध लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध ढंगले उत्तर कोरियालाई चीनले तेल उपलब्ध गराएको भन्ने आरोप लगाएपछि यो घट्ना सार्वजनिक हुन पुगेको हो ।
सो जहाज प्रशोधित तेल भर्न ११ अक्टोबरमा दक्षिण कोरियाको यिओसु बन्दरगाहमा प्रवेश गरेको तथा चार दिनपछि भियतनामका लागि प्रस्थान गरेको योन्हाप समाचार निकायले जनाएको छ । तर भियतनाममा जानुसट्टा त्यसले एउटा उत्तर कोरियाली जहाजमा तेल ओसारेको जनाइएको छ ।