जारीले सय दिन मनाउन सफल

७ श्रावण २०८०, आईतवार १२:००

काठमाडौं, ७ साउन – नेपाली चलचित्र जारीले १०० दिन मनाउन सफल भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य अभिन्य रहेको उक्त चचित्र गत वैशाख १ गतेदेखि प्रदर्शनमा आएको थियो ।

गत वैशाख १ गतेदेखि प्रदर्शनमा आएको उक्त चलचित्र जारीले साउन ६ गते शनिबार काठमाडौँ उपत्यकाका तीन चलचित्र हलमा सय दिन मनाउन सफल भएको हो । काठमाडौँ उपत्यकामा रहेका भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन मनाउन सफल भएको हो।

लिम्बु समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको फिल्ममा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्‌को कथा प्रस्तुत गरिएको छ। जारी प्रथासँग सम्बन्धित यस चलचित्रलाई कवि तथा कथाकार उपेन्द्र सुब्बाले निर्देशन गरेका छन्। चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले ५१ दिन मनाएको यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए।

‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको उनले बताए। उनले भने, ‘महिला आँटिला र साहसिला हुन्छन्। स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भए भन्दैमा सम्मानबिना बस्दैनन्। उनीहरुको आत्मसम्मानको कथा चलचित्रमा प्रस्तुत गरेको छु।’

यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बु, कमलमणि नेपाल, पुष्कर गुरुङ लगायतले अभिनय गरेका छन्।