काठमाडौं, ७ साउन– नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष एवम् पूर्वमन्त्री पम्फा भुसाल नेतृत्वको टोली आज दिउँसो ३ बजे दिल्ली जादैछ।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पूर्वमन्त्री भुसाल सहित ५ जना माओवादी नेताहरू भारत जान लागेका हुन् । पार्टी केन्द्रीय सदस्य चक्रपाणि खनाल, रामेश्वर राय यादव, सुरेशकुमार राई, सत्या पहाडी रहेका छन् ।
भ्रमण दलका सदस्य एवम् पार्टी केन्द्रीय सदस्य यादवका अनुसार आज दिउँसो ३ बजे दिल्ली जाने पूर्वमन्त्री भुसाल नेतृत्वको टोली ५ दिनसम्म भारतमै बस्ने छ। भाजपा र माओवादी केन्द्रको ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तार गर्न लागि पूर्वमन्त्री भुसाल सहितको टोली भारत जान लागेको हो । दिल्ली, देहरादुन र ऋषिकेस लगायत ठाउँहरूको अवलोकन पूर्वमन्त्री भुसाल नेतृत्वको टोली गर्ने भएको छ ।
भारतमा हुँदा भाजपा पार्टी कार्यालय अवलोकन गर्नुका साथै पार्टी अध्यक्ष अमित शाह लगायत पार्टीका शीर्ष नेतृत्व समित प्रदेश अध्यक्षहरूलाई समेत भेट्ने कार्यतालिका रहेको यादवले जानकारी दिए।
यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।
