काठमाडौं, ५ साउन –ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ लगत्तै छुटेका कलाधर देउजालाई फेरि पक्राउ गरिएको छ । उनी मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन कर्मचारी हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यका अनुसार प्रकरणमा पक्राउ परेका केहीले अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएसँगै प्रहरीले शुक्रबार अपराह्न देउजालाई फेरि पक्राउ गरेको हो ।
उनका अनुसार, अदालतले उनसहित १७ जनालाई पक्राउ नगर्न भन्दै १९ साउन २०७९ मा दिएको आदेश खारेज भए फेरि आरोपीलाई पक्राउ गरिएको हो ।
प्रहरीले देउजासहित ७ जनालाई १२ असारमा पक्राउ गरेको थियो । तर, देउजासँगै पक्राउ परेका सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीको नाममा स्टे अर्डर भेटिएपछि प्रहरीले सोही दिन छाडेको थियो ।
