काठमाण्डौ, ५ साउन– कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको गठबन्धनको स्थायित्वका लागि कांग्रेसको केन्द्रीय समिति बैठकले दृष्टिकोण बनाउनुपर्ने बताएका छन ।
आज (शुक्रबार)को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले राजनीतिक विषयसँग वर्तमान गठबन्धनको विषय जोडिएर आउने भन्दै गठबन्धनको स्थिरताका लागि केन्द्रीय समितिले दृष्टिकोण बनाउनुपर्ने बताएका छन । उनले भने, ‘सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस तीनै तहको सरकारमा छ, संसदमा छ ।
यो ठूलो उपलब्धि हो, ‘सभापतिको नेतृत्वमा गठबन्धन र ठूलो पार्टी बनेको छ। यो गठबन्धन र सरकारलाई कसरी जनतासँग जोड्ने दृष्टिकोण बनाउनुपर्छ ।’
यस्तै उनले मुलुक आर्थिक अवस्थाबारे बैठकमा छलफल हुनुपर्ने बताएका छन। ‘बैंकमा ८ खर्ब रुपैयाँ त्यतिकै बसिरहेका बेला राज्यसँग पैसा छैन भन्दैछौं ।
हामी त्यसको उपयोग गर्छौँ कसरी ?,’ उनको प्रश्न छ, ‘धनी र गरिबको फरक बढ्दो छ । भूगोलको झन बढ्दो छ । बागमती र कोशी प्रदेशको कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलना गर्दा ज्यादा फरक देखिएको छ ।’
उनले सुशासन, स्रोतको उचित परिचालन, रोजगारी सिर्जना, पूर्वाधारमा निजी क्षेत्रको लगानी बढाउन, सरकारी खर्च, विपन्नको संख्या घटाउन र मूल्यवृद्धि घटाउने सवालमा ठोस ढंगले छलफल गरेर जानुपर्ने बताएका छन । उनले पार्टी देश र जनताका लागि निर्माण गरिने भन्दै देश र जनताको मुद्दामा पनि छलफल हुनुपर्ने बताएका छन ।
