पुनः कोरिया जान चाहनेहरुका लागि भाषा परीक्षा सञ्चालन हुदै, के के चाहिन्छन् कागजात ?

५ श्रावण २०८०, शुक्रबार १५:४२

काठमाडौं, ५ साउन – दक्षिण कोरियामा काम गरी वैधानिक रुपमा फर्किएर पुनः कोरिया जान चाहनेहरुका लागि भाषा परीक्षा सञ्चालन गरिने भएको छ ।

ईपीसी कोरिया शाखाका अनुसार सन् २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सीबीटी) सञ्चालन गर्न लागिएको हो। ह्युमन रिर्सोस डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी) बाट परीक्षा सञ्चालन हुँदैछ । यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्ने छ ।

एचआरडीबाट प्राप्त नाम समावेश भएका मध्ये इच्छुक नेपाली कामदारले आवेदन दिन सक्ने भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार ईपीएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र १ जनवरी २०१० पछि भिसा अवधि भित्रै स्वैच्छिक रुपमा नेपाल फर्किएकाहरुले मात्र पुनः रोजगारीका लागि अवसर पाउने भएका छन् ।

उमेर १८ वर्ष पुरा भएको र ३९ वर्ष ननाघेको हुनुपर्छ । फौजदारी अभियोग नलागेको, कोरियामा गैरकानूनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको र कोरियामा इ–९ र इ–९–१ भिसामा ५ वर्ष भन्दा बढी अवधि नबसेको हुनुपर्ने समेत ईपीएस कोरियाले जनाएको छ ।

फारम वितरण तथा दर्ता मिति १३ साउनदेखि १५ साउनसम्म तोकिएको छ । परीक्षा तालिका घोषणा ८ भदौ २०८० मा हुने भएको छ । परीक्षा भने १८ भदौ देखि २९ भदौसम्म चल्ने भएको छ । नतिजा ३ असोजका दिन प्रकाशित हुने भएको छ ।

आवेदकले फारम भर्दा राहदानीको फोटो भएको रंगिन पेज स्क्यान गरी अपलोड गर्नुपर्ने छ । ३ महिनायता खिचेको तस्वीर अपलोड गर्नुपर्छ । आफ्नै इमले र फोन नम्बर राख्नु पर्ने समेत सूचनामा उल्लेख छ ।