काठमाण्डौ, ५ साउन– बेलायतमा रोजगारीका लागि नेपाली १०० जना नर्सको माग गरीएको छ । दुवै देशबीच भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन आह्वान गरिएको छ ।
त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।https://ferms.dofe.gov.np/auth/login मा गएर १९ अक्टोबर २०२३ सम्म आवेदन दिन सकिने विभागले जानकारी दिएको छ ।
अनलाइनमा गइसकेपछि आफ्नो युजर आईडी बनाउनुपर्छ । रजिष्ट्रेशन गर्दा आफ्नो पासपोर्ट नम्बर, जन्ममिति, आफ्नो पुरा नाम, इमेल, फोन नम्बर सबै पेश गर्नुपर्ने विभागले जानकारी दिएको छ । सोही आधारमा अनलाइनमा रजिष्ट्रेशन हुनेछ । र त्यही आधारमा आवेदन फारम भर्न सकिनेछ ।
यसका लागि विभिन्न मापदण्ड तोकिएको छ । हेल्य केयर असिस्टेन्ट (स्वास्थ्य सहायक) पदका लागि जान पाउनेछन् । उनीहरूले मासिक २ हजार ३६७ पाउण्ड (आजको बिनिमय दरअनुसार ४ लाख २ हजार ९८९.५२ रूपैयाँ) तलब पाउनेछन् ।
त्यसमा कर, बीमाको पैसा काटिनेछ । नर्सहरूले हप्तामा ३७।५ घण्टा काम गर्न पाउनेछन् । वार्षिक २७ दिन र सार्वजनिक विदाको दिन बिदा पाउनेछन् ।
उनीहरूले पहिलो तीन महिनाका लागि आवास सुविधा निःशुल्क हुनेछ । ओभरटाइम बेलायत सरकारको नियमानुसार हुनेछ ।
उनीहरूलाई तीन वर्षका लागि समयावधि तोकिएको छ । यसमा थपघट हुन सक्नेछ । स्वास्थ्य सहायकको रूपमा स्टाफ नर्स, बिएस्सी तथा बीएन नर्स, मास्टर डिग्री नर्सले आवेदन दिन सक्नेछन् ।
उनीहरूले नर्सिङ लाइसेन्स लिएर दुई वर्ष कार्यअनुभव लिइसकेको हुनुपर्नेछ ।
