नुवाकोटको फिकुरीमा २५ लाखको पर्खाल १० दिनमै ढल्यो

५ श्रावण २०८०, शुक्रबार १२:३६

काठमाण्डौ, ५ साउन– नुवाकोटको किस्पाङ गाउँपालिका– २ फिकुरीमा २५ लाख खर्च गरेर बनाइएको पर्खाल १० दिनमै भत्किएको छ ।

जग समेत नखनी हालिएको पर्खाल सोमबार भत्किएको स्थानीयले जानकारी दिएका छन । स्थानीय शिव फुयाँलले कमजोर निर्माण भएका कारण पर्खाल भत्किएको बताएका छन ।

पर्खालकै कारण चर्किएको जमिन भत्किए काउले भाल्चे सडक अबरूद्ध हुने र बस्ती समेत जोखिममा पर्नेउनले बताएका छन । उनले ४० मिटर लम्बाइ र १५ मिटर उचाइको पहिरो गएको बताएका छन ।

निर्माण समितिको गैर जिम्मेवारीले यस्तो परिस्थिति सिर्जना भएको भन्दै राज्यको ध्यानाकर्षण हुनुपर्ने उनले बताएका छन ।

फिकुरी बहुमुखी क्याम्पसको हातभित्र लगाएको पर्खाल सोमबारको समान्य झरीले नै भत्काइदिएको स्थानीय फिकुरी प्रहरी चौकीले बताएका छन ।

स्थानीयहरूले पर्खाल निर्माणमा भ्रष्टाचार भएका कारण १० दिन पनि नटिकेको दाबी गरेका छन । पहिरो जाने पानी नपरेको तर सिमसिम पानीले नै पर्खाल भत्काएपछि त्यसमा गाउँपालिका र अख्तयारले छानविन समिति नै बनाएर उक्त निर्माणको अनुगमन गर्नुपर्ने उनीहरुले बताएका छन ।

प्राविधिकसहितको मिलेमतोमा कमजोर पर्खाल निर्माण हुँदा समस्या भएको उनीहरूले बताएका छन । बागमती प्रदेशसभाको पूर्व सदस्य एमाले नेतृ आशामाया लामाले समेत पर्खाल निर्माण समितिको नाम समेत सार्वजनिक गर्दै गुणस्तरको बारेमा सार्वजनिक रूपमै प्रश्न उठाएकी छिन ।

किस्पाङ गाउँपालिकाका पूर्व अध्यक्ष छत्र लामा नै अध्यक्ष रहेको क्याप्समा निर्माण समितिको संयोजक पनि उनी नै रहेका थिए । प्राविधिक स्टेटमेन्ट समेत गलत तयार गरेर अध्यक्ष लामाले कमसल पर्खाल लगाएको क्याम्पसका शिक्षकहरूले समेत बताएका छन ।

बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालय गजुरीबाट कार्यान्वय गरिएको २५ लाखको योजनामामा जम्मा १८ लाखमात्र बजेट प्राप्त भएको अध्यक्ष लामाले जानकारी दिए ।

यस्तै फिकुरी बहुमुखी क्याम्पसका प्रमुख चुडामणि न्यौपानेले पर्खालको बीमा गरिएको भए पनि असार ३१ गते नै मिति सकिएकाले त्यो पाटो च्याप्टर क्लोज भएको बताएका छन ।