धरानमा मन्दिर नजिकै चर्च बनेपछि विवाद सृजना

५ श्रावण २०८०, शुक्रबार ११:४५

काठमाडौं, ५ साउन – सुनसरी जिल्लाको धरान १४ सिंहदेवी चोकमा चर्च बनेपछि विवाद सृजना भएको छ ।

हिन्दु धर्मावलम्बीहरूले धार्मिक क्षेत्रमा थाहा नदिई चर्च बनाएको भन्दै विरोध गरेपछि विवाद भएको हो । वडा कार्यालय र नगरपालिकालाई पनि थाहा नदिई चर्च बनाएको स्थानीय वासुदेव बरालले आरोप छ ।

धरान १४ सिंहदेवी चोकमा चर्च बनाएको स्थान अगाडि बाल गोपालको मन्दिर रहेको छ । यो मन्दिर १ सय वर्ष भन्दा पुरानो रहेको मानिन्छ । सोही स्थानमा कल्याणीको आश्रम तथा हिन्दुहरूको धार्मिक स्थल भएकाले उक्त क्षेत्रमा चर्च बनाउँदा धार्मिक विवाद हुने बरालले बताए ।

चर्च बनेको थाहा पाएपछि धरान उप महानगर पालिकाका मेयर हर्क साम्पांगलाई चर्च निर्माणको काम रोक्न माग राख्दै ज्ञापन पत्र बुझाइएको छ । यस्तै ख्रिस्चयन समाजको तर्फबाट समेत मेयर साम्पांगलाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्र बुझेपछि मेयर साम्पाङले आफू भन्दा माथिल्लो निकायबाट मात्रै यो समस्याको समाधान हुने बताएका थिए ।

उनले सामाजिक सञ्जालमा लेख्दै मिलेर बस्न आग्रह गर्दै मिल्न नसके कानुनी उपचारमा जाने आशय व्यक्त गरेका थिए । उनले लेखेका छन् देशको सर्बोच्च अदालतको प्रधान न्याधिश होइन । धर्मको बिषयमा न्यायलयले नै हो बोल्ने । कसको भगवान ठूलो की कस्को इश्वर ठूलो त्यो कुराको फैसला न्यायलयले गरिदेओस ।