सय किलो सुन प्रकरण: भन्सारका जाँच पास अधिकृत चन्द र जाँचकी ढकाल निलम्बित

५ श्रावण २०८०, शुक्रबार १०:५४

काठमाडौँ, ५ साउन – सय किलो सुन प्रकरणबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको हो । क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ ।

महानिर्देशक पौडेलले छानबिनका लागी भन्सार एजेन्ट यादव पराजुलीलाई पनि निलम्बन गरिएको बताएका छन् । ‘दुई कर्मचारीसहित ३ जनालाई निलम्बन गरेका छौँ, थप छानबिन हुँदै छ, महानिर्देशक पौडेलले भने ।’