इरानका शहरमा सरकार विरोधी प्रदर्शन बढ्दै

१५ पुष २०७४, शनिबार ०४:१४

पुस १५, काठमाडौं । इरानमा बिहीवारबाट मूल्यवृद्धिको विरोधमा शुरु भएको प्रदर्शन अहिले सरकारको नीति तथा धर्मगुरुबाट गरिने शासनविरुद्ध पनि हुन थालेको छ।

 

उत्तरमा राश्ट सहर, पश्चिममा केरमनशामा थुप्रै मानिसहरु सडकमा उत्रिएको खबरहरु छन् भने एस्फहान, हमादानलगायत अन्य क्षेत्रमा पनि सानातिना प्रदर्शनहरु भएको बताइएको छ।  विरोध प्रदर्शनमा उत्रिएका मानिसहरुको समूहलाई राजधानी तेहरानमा पक्राउ गरिएको छ।  कडा नाराहरु लगाएका ५२ प्रदर्शनकारीहरु पक्राउमा परेका हुन्।  पक्राउ गरिएकोमा निन्दा गर्दै अमेरिकाले सबै राष्ट्रहरुलाई इरानी जनताले आधारभूत अधिकार र भ्रष्टाचार अन्त्यका लागि गरेको मागलाई सार्वजनिक रुपमा समर्थन गर्न आह्वान गरेको छ।

 

जनसंख्याको हिसाबले देशको दोस्रो ठूलो उत्तर पूर्वी शहर मस्सदबाट बिहीवार प्रदर्शनहरु शुरु भएको थियो।  सडकमा उत्रिएका मानिसहरुले अधिक मूल्य वृद्धि गरेकोमा सरकार र राष्ट्रपति हसन रुहानी प्रति आक्रोश व्यक्त गरेका थिए।  शुक्रवार अधिकारीहरुको चेतावनीका बावजुद देशका ठूला शहरहरुमा प्रदर्शनहरु थप फैलिएको छ।

आक्रोश
संवाददाताले भनेका छन्, नाराहरु राष्ट्रपति रुहानीविरुद्ध मात्रै नभइ सर्वोच्च नेता अयातुल्लाह अलि खामेनी र धर्म गुरुहरुबाट गरिने शासनविरुद्ध पनि लगाइएको छ।  त्यसबाहेक इरानले देशबाहिर गरिरहेको हस्तक्षेपविरुद्ध पनि नाराहरु लगाइएको छ।  मस्सदमा केही मानिसहरुले  मेरो जीवन इरानका लागि हो, गाजा वा लेबननका लागि होइनु भनेका छन्।  देशको ध्यान घरेलु मुद्दामा भन्दा पनि विदेशमा भएको भन्दै उनीहरुले यस्तो आक्रोश पोखेका हुन्। अनलाइनमा हालिएका भिडिओहरुमा, केही अन्य प्रदर्शनकारीले भने सिरियालाई छोडेर हामीबारे सोच भन्दै चिच्याएका देखिन्छन्।  सिरिया सरकारलाई सैन्य सहायता प्रदान गर्ने इरान एउटा प्रमुख देश हो।–बिबिसी नेपाल