धरानका सुन व्यवसायी योवन खड्गीले गरे आत्मदाहको प्रयास, कारण यस्तो छ

३ श्रावण २०८०, बुधबार १२:१७

काठमाडौं, ३ साउन– धरानका सुन व्यवसायी योवन खड्गीले व्याजमा लिएको पैसा फिर्ता गर्न दबाब बढेपछि आत्मदाहको प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ ।

सुन पसलको व्यवसाय गर्दै आएका खड्गीले व्याजमा लिएको पैसा फिर्ता गर्न दबाब बढेपछि भानुचौकमा आएर आत्मदाह गर्न खोजेको प्रहरीमा बयान दिएका छन् ।

उनले मंगलबार (हिज) बिहान भानुचौकमा शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेका थिए । खड्गीलाई प्रहरीले तत्कालै उद्धार गरी बचाएको थियो।

उनले सहकारी जस्तो आर्थिक कारोबारमा व्याज दिने गरी लिएको पैसा फिर्ता गर्न नसकेकाले आत्महत्या गर्न खोजेको बयान दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लल बताएका छन् ।

उनलाई घटनास्थलबाट इलाका प्रहरी कार्यालय पुर्‍याइएको थियो । त्यहाँ उनले ७२ जना सर्वसाधारणबाट लिएको ६ करोड ७४ लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको बयान दिएका हुन् ।

डिएसपी मल्लले भने ‘सुन व्यवसायबाट सहकारी जस्तो बचत तथा ऋणको कारोबार गर्न थालेको पाइयो ।’ ५० वर्षीय खड्गीले उनको सुन पसलमा हालसम्म ७२ जना सर्वसाधारणले ६ करोड ७४ लाख रुपैयाँ जम्मा गरेको पाइएको हो । बचत रकम माग्दै सर्वसाधारणको दबाब बढेपछि मानसिक तनावमा थिए ।